दफा
युवा नीतिको आवश्यकता

२. युवा नीतिको आवश्यकता

युवाहरू आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनका संवाहक भएकोले यस वर्गलाई राष्ट्रिय नीतिबाट विशेष रूपमा सम्बोधन गरी राष्ट्र निर्माणमा अग्रसर गराउनु अहिलेको प्रमुख आवश्यकता रहेको छ । नेपालको हरेक राजनीतिक परिवर्तन, लोकतन्त्रको स्थापना र अन्य सामाजिक आन्दोलनहरूमा युवाहरूको महत्वपूर्ण योगदान रही आएको छ । विगतमा भएका शान्तिपूर्ण जन आन्दोलन, दस
वर्षे सशस्त्र द्वन्द्वकाल, मधेश आन्दोलन, थरूहट आन्दोलन लगायतका आस्था र पहिचानका आन्दोलनहरूबाट युवाहरूको विद्यमान अवस्थालाई विशेषरूपमा सम्वोधन गर्नुपर्ने माग उजागर भएकाले युवासम्बन्धी नीतिको आवश्यकता बढ्न गएको हो । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको लागि युवाहरूले गरेको उल्लेखनीय योगदानको कदर स्वरूप वर्ग, जाति, भाषा, धर्म र लैङ्गिकता जस्ता विषयहरूलाई एकातिर सम्बोधन गर्नु पर्ने आवश्यकता छ भने अर्काेतिर अल्पसङ्ख्यक, सीमान्तकृत, शारीरिक एवं मानसिक रूपमा अपाङ्ग र पिछडिएको क्षेत्रमा रहेका युवा वर्गलाई समेत विशेष रूपमा सम्बोधन गर्नु जरूरी छ । समावेशी, समानुपातिक र समविकासको सिद्धान्त अनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, राष्ट्रिय स्वाधीनता तथा नेपालको सार्वभौमसत्तालाई अक्षुण्ण राख्न, आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक रूपान्तरणमा युवा नेतृत्वको सम्भावनालाई मूर्तरूप दिन र राज्य सञ्चालनका हरेक प्रक्रियामा युवाहरूको सक्रिय सहभागितालाई सुनिश्चित गर्न राज्यले ठोस नीति अवलम्वन गर्नु पर्ने भएको छ । नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम देश विकासमा युवा जनशक्तिलाई परिचालन गर्न राज्यले विशेष नीति अवलम्बन गर्नु पर्ने कुराको दिशाबोध गरेको परिप्रेक्ष्यमा राष्ट्रिय युवा नीतिको आवश्यकता झनै बढेर गएको छ । शिक्षा आर्जनको क्रममा रहेका, रोजगारी तथा वृत्तिको अवसरको खोजीमा रहेका तथा वृत्तिविकासको अवस्थामा रहेका युवाहरूका मुद्दा तथा प्राथमिकताहरू स्वभावतः फरक हुन्छन् । कलिलो उमेर समूहमा पर्ने युवाहरूको संवेदनशीलतालाई दृष्टिगत गरी जीवनयापनका विविध पक्षहरूबारे मार्गदर्शन गर्ने राज्यको प्रमुख दायित्व रहेकोले त्यस्ता युवाहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको छ ।

युवाहरू राष्ट्रको महत्वपूर्ण मानव स्रोत भएकाले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक लगायत जनजीवनका हरेक क्षेत्रमा उनीहरूमा निहित क्षमताको विकास गरी राष्ट्र निर्माणमा अग्रसर गराउन राष्ट्रिय युवा नीतिको आवश्यकता अझ घनीभूत भएको छ । युवाहरूमा
सिर्जनशीलता, वैज्ञानिकता, जिम्मेवारीपूर्ण व्यवहार, उद्यमशीलता, नागरिक सोच र जवाफदेहिताको विकास गरी न्याय र नैतिकतामा आधारित स्वच्छ सामाजिक जीवनको विकास गर्न उनीहरूमा रहेको अन्तर्निहीत क्षमताको विकास गर्नु जरूरीे छ । जोखिममा रहेका युवाहरूलाई आवश्यक सहयोग पु¥याउन र उनीहरूका अन्तर्निहित क्षमता उजागर गर्न, युवा प्रतिँभा पलायनलाई रोक्नका लागि उपयुक्त व्यवस्थापन गर्न तथा विश्वव्यापी रूपमै सिर्जना हुने अवसरहरूमा नेपाली युवाहरूको पहुँचलाई सुनिश्चित गर्दै थप सम्भावनाको विकास गर्न पनि युवा नीतिको आवश्यकता पर्न गएको छ ।